विवाह बाहिरको सम्बन्ध



लौन मेरो श्रीमानलाई के भयो-भयो । बान्ता भ'कोभा'कै छ, के खानु भो-भो, होस्  नै छैन । जीउ पूरै छारे रोगमा झैं कामेको कामेइ छ । लौन छिटो हेरिदिनु न ।  छिटो...लौन छिटो... ।'
करिब २ वर्ष जतिको बच्चा बोकेकी दिदी राति १० बजेतिर आत्तिँदै आकस्मिक  कक्षभित्र छिरिन् । म जुरुक्क उठेँ र बाहिर ट्याक्सीमा रहेका उनका  श्रीमानलाई भित्र ल्याउन दौडिएँ । समय खेर नफालिकन हामी दुई नर्स र एक  डक्टर उनको उपचारका निम्ति जुट्यौं ।
'दाइले के खानुभएको हो ? कसले देख्यो ?' एकजना भाइले ठूलो स्वरमा बोले, 'दाइले विष खानुभएको ।'
'तुरुन्तै त्यो बट्टा लिएर आउनुस् ।'
ती भाइलाई घरतिर पठायौं र नाकबाट पाइप छिराएर पेट सफा गर्ने कोसिस गर्न  थाल्यौं । उनको शरीर झट्का हानेझैं भएर कामिरहेको थियो । आँखा मास्तिर  फर्किरहेका थिए, जसलाई कम गर्न नसाबाट औषधी दिइयो, तर काम गरेन । छातीमा  लिड तार राखेर मुटुको चाल र काम हेर्ने इसिजी मोनिटर जोड्यौं र अक्सिजन  सुरु गर्‍यौं । शरीरमा ९० प्रतिशतभन्दा माथि अक्सिजनको मात्रा हुनुपर्नेमा  निकै तल झरेको मेसिनले देखायो ।
'डक्टर, अक्सिजन ४६ प्रतिशतमात्रै', म कराएँ ।
डक्टर अक्सिजन दिन लाग्नुभयो । अहा.. अक्सिजनसँग बिरामीको शरीरले कुनै  नाता जोड्न चाहेन । हुँदाहुँदै स्वचालित श्वास-प्रश्वास बन्द भयो, हाम्रो  कोसिस सफल भएन ।
म बिरामीको छातीमाथि दुई हातले लगातार मसाज गर्न लागेँ र डक्टरले मुखमा  राखेको पाइपबाट एम्बु अक्सिजन दिन थाल्नुभयो । बीस-पच्चीस मिनेटको कृत्रिम  श्वास-प्रश्वासपछि पनि मुटुले केही सकारात्मक प्रतिक्रिया देखाएन ।
यत्तिकैमा ती भाइ आइपुगे र भने, 'सिस्टर दाइले खानुभएको झोल यही बट्टाको  हो ।' त्यो त अग्र्यानोफोस्फोरस पोइजन पो रहेछ । धेरै खाएको र अस्पताल  ल्याउन ढिला भएकाले अवस्था गम्भीर भएको कुरा प्रस्ट भयो । कम उमेरको बिरामी  भएकोले केही चमत्कार होला कि भनेर हामी प्रयासरत थियौं । अन्ततः ईसीजी  मोनिटरमा मुटुको चाल देखाउने रेखा सिधा भयो । एकदम सिधा... । घोषणा भयो-  मृत्युको । तपाईंको श्रीमान रहनुभएन । डक्टरको मुखबाट निस्केका यी तीन शब्द  सुन्नेबित्तिकै बोकेको छोरोसहित ती दिदी भुइँमा पछारिइन् । परबाट १२  वर्षकी छोरी हतासिँदै आइपुगिन् र आमालाई घचघच्याउन थालिन् ।
आमा के भयो, किन यस्तो गर्नुभा'को, बोल्नु न के भयो....। काखको छोरो  एकातिर ठूली छोरी अर्कोतिर रोइरहेका थिए । दिदी केही बोलिनन् । दर्शकको  भीडबाट एउटा आवाज आयो, 'जाऊ नानी भित्र..., बाबासँग अन्तिमपल्ट भेट गर ।'  अनि ती बच्ची मलाई पछ्याउँदै आइन् र मेरा औंला समाएर तान्न लागिन् । म
झस्किएँ । 'सिस्टर, मेरो बाबा निदाउनुभा'को है..., उहाँ मर्नुभा'को हैन  है... ।' उनको यो 'हो या होइन'मा दिनुपर्ने छोटो जवाफ पनि मलाई बडो लामो  लाग्यो । म एकटकले हेरिरहेँ । न केही बोल्नसकेँ, न सान्त्वनाका हात उनीमाथि  उठाउन नै सकेँ । म झट्ट आफ्नो औंला उनकोे हातबाट हटाएर बाथरुमभित्र छिरेँ ।  बाक्लो मोटो भित्तो छेडेर बाथरुमभित्र पनि बाहिरको चिच्याहट रुमल्लिरहेको  थियो ।
अगाडि भएको ऐनामा आँखा पुग्यो, त्यहाँ आफ्नो नभई उही बच्चीको प्रतिविम्ब  थियो । अनि उनका ओँठमा अघिकै प्रश्न । म भक्कानिएँ । आफूलाई सम्हाल्न सकिन र  मेरा आँखाबाट पनि आँसु र्झनथाले । केही बेर आफूलाई शान्त पारेर म बाहिर  निस्किएँ र विस्तार-विस्तार पाइला चाल्दै उनको मृत बाबालाई सुताएको बेडछेउ  गएँ । उपचारको क्रममा लगाइएको अक्सिजन पाइप, छातीका तार, हातका सुई सबै  निकालिदिएर सेता कपडाले मुखसम्म छोपिदिएँ ।
फेरि थप एक जीवन आत्महत्याले सिध्यायो ।
उनको आँसु र बोली एकैचोटी पोखियो, 'दाइले व्यवहार दुइटा गर्नुभएको रहेछ,  यता भाउजू र दुई छोराछोरी छन्, उता अर्की गर्भवती भइछन् । दुवै परिवारको  माया लाग्ने रहेछ । दुवैलाई छोड्न पनि सक्नुभएन, साथमा मिलाएर राख्ने आँट  पनि गर्नुभएन । कुनै विकल्प नदेखेर अन्त्यमा आफैंलाई सिध्याइदिनुभयो ।'  बल्ल मैले बुझेँ, 'यो त हिजोआज सहर-बजारमा घट्दै गएको एक्स्ट्रा म्यारिटल  अफेर -विवाह बाहिरको सम्बन्ध) को थप नतिजा पो रहेछ ।'
जहाँ सधैंजसो साँढेको जुधाइ, बाछाको मिचाइ हुन्छ । साँच्चै डरलाग्दो समय  आँखा अगाडि आइपुगेको छ । मन यसै नमिठो भयो र यस्तै नमिठै-नमिठोमा आजको नाइट  ड्युटी बित्यो ।
भोलिपल्ट फेरि अर्को नाइट ड्युटी सुरु भयो । आफ्नो ठूलो भाइ, आमाजू र  जेठानीलाई लिएर एउटी दिदी राति आठ बजे इमर्जेन्सीमा आइन् । उनको समस्या  थियो, महिनावारी भएको दस दिन बितिसक्दा पनि रगत बग्न रोकिएन । उनीसँग  व्यक्तिगत विवरण लियौं । उमेर ३० वर्ष, पढाइ १० पास, दुई छोरी एक छोरा,  गृहिणी, श्रीमान विदेशमा, महिनावारी नियमित रूपमा हुने र कुनै पनि दीर्घरोग  नभएको ।
त्यसपछि उनको रगत र पिसाब जाँचका लागि पठाएर रगत रोकिने औषधी दियौं ।  १०.३० बजेतिर रिपोर्ट आइपुग्यो । जसमा थियो- युरिन पि्रग्नेन्सी टेस्ट  पोजेटिभ । अर्थात् उनी गर्भवती
रहिछन् । भर्खर गर्भपतन भएको र गर्भको केही अंश पाठेघरभित्रै रहेकाले  लगातार रगत बगिरहेको पत्ता लाग्यो । हामी स्वास्थ्यकर्मीसँग पनि कुरा  लुकाएर बोलेकोमा डक्टर खुब रिसाउनुभयो । अनि रिपोर्टका बारेमा भन्न बेडतिर  हिँड्नुभयो ।
'एकछिन डक्टर' मैले भनेँ, 'सुरुमा हामी बिरामीसँग कुरा गरौं, त्यसपछि  आफन्तसँग ।' मैले उनका आफन्तलाई हतार-हतार बाहिर पठाएँ र उनको छेउमा गएर  रिपोर्टबारे कुरा गरेँ । दिदी जंगिइन्, 'यो हुनै सक्दैन, मैले यस्तो  नराम्रो काम कहिल्यै गरेकी छैन, कस्तो हस्पिटल हो, जे पायो त्यही रिपोर्ट  निकाल्ने ।' मैले जवाफ दिएँ, 'सबैको अगाडि भिडियो एक्सरे गरेर हेरौं, अनि  आफ्नै आँखाले फोटो हेर्नुहोला ।' उनी डराइन् । कालो-नीलो अनुहार भयो, उनको ।  हात जोड्न लागिन् र गोप्य राखिदिन अनुरोध गरिन् । उनको अप्रेसन कोठामा  लगेर पाठेघर सफा गर्नुपर्ने भएकाले रिसाएका डाक्टर आफन्तको हस्ताक्षर लिन  बाहिर निस्कनुभयो ।
डक्टर ढोकामा के पुग्नुभएको थियो, मैले बीचमै रोकेँ, 'प्लिज डक्टर, उहाँको  घर र माइतीपट्टकिा दुवैथरी यहाँ हुनुहुन्छ, यो रिपोर्टका बारेमा सुनेपछि  भोलि यिनको के
होला ? त्यसैले हामी गोपनीयता अपनाएर नै उपचार गर्न सक्छौं, हुँदैन र ?'  मेरो कुरा टुंगिन नपाउँंदै डक्टर ममाथि खनिनुभयो, 'कर्म अनुसारको फल हुन्छ ।  गल्ती गर्नेले परिणाम पनि भोग्नुपर्छ । आज गुपचुप उपचार गरेर पठाउनुहुन्छ ।  ए...केही हुँदैन रहेछ भनी भोलि फेरि सोही अनुहार दोहोरिएर आउँछ ।  कहिलेसम्म चुपचाप सेवा गर्नुहुन्छ ? त्यसैले आज नै केही गर्नुस्, ताकि भोलि  राम्रो होस् ।'
'हो, डक्टर सबै कुरा ठीक हो, जसले जस्तो कर्म गर्छ, उसले त्यस्तै फल पाउँछ  । तर यहाँ कर्मै नगरिकन उनका तीन छोराछोरीले नराम्रो फल पाउने भए । भोलि  तेरो आमा यस्ती र उस्ती भनेर घर र माइती दुवैतिरबाट फालिन्छन्, ती बच्चाहरू  पनि । आजको हाम्रो सानो झुटले ती बच्चाहरूको जिन्दगी जोगिन्छ । सो प्लिज  डक्टर ।' बिरामीको गोप्यता भंग गर्न नहुने आफ्नो धर्म सम्झेर डक्टर केही  नरम हुनुभएको आभास
भयो । 'म आज र अहिलेमा अल्मलिएर यी दिदीलाई सबक सिकाउनपट्ट िलागेँ, तर  तपाईं उनका बच्चाहरूको भोलिसम्म पुग्नुभयो । सायद यहाँ तपाईर्र्ं नै ठीक  हुनुहुन्छ, सिस्टर । हुन्छ, कुरा गोप्य नै रहोस्, तर यी दिदीलाई सचेत त  गराउनैपर्छ ।' 'धन्यवाद', म थोरै हाँसेँ । म यसर्थ खुसी भएँ कि ती साना तीन  बालबालिकाको जिन्दगी बेवारिसे हुन पाएन ।
यसरी कहिले महिला त कहिले पुरुष एक्स्ट्रा म्यारिटल अफेरको जालो फिँजाउन  रफ्तारमा दौडिरहेका छन् । 'महिला र पुरुषमा फरक छैन, जो जसको पनि साथी  हुनसक्छ' भन्दै आधुनिकतामा ढल्किन खोज्दा भित्रिएका असामाजिक समस्याहरूले  परिवारहरू भटाभट विखण्डन हुँदैछन् । उता दाइ परिवारलाई सुख दिनका लागि  बाहिर घोटिएर काम गर्छन्, यता भाउजू नयाँ साथीसँग रमाइरहेकी हुन्छिन् । यता  भिनाजूको आयु लामो होस् भनेर दिदी पानीसम्म नपिई व्रत लिन्छिन्, उता  भिनाजू टर्रो-मीठो पानी पिउँदै नानीसँग व्यस्त हुन्छन् । अहिलेका अधिकांश  पढेलेखेका जागिरदार मानिसहरूको दिनचर्या यस्तो हुनथालेको छ । डक्टर, अफिसर,  हाकिम, वकिल, सुरक्षाकर्मी, नेता, अभिनेता सबै दिनानुदिन गासिँदैछन्, यो  विनाशकारी डोरोमा । घर-घरमा यस्तो अवस्था आउन थालेपछि विरक्तिएका साना  नानीहरूको आउने दिन कसले सपारिदेला ।

No comments:

Post a Comment